धनगढी आयोजना हुने लिटिल फ्लावर प्रिमियर लिग (एलपीएल) फागुन अन्तिम साता हुने भएको छ । धनगढ़ीमा हुने यो डीपीएल पछिको दोश्रो ठुलो क्रिकेट लीग हो ।

आयोजक टिमका अध्यक्ष रामचन्द्र शाहीले कोभिड–१९ को माहामारीको अवस्था सामान्य अवस्थामा फर्केपछि फागुन अन्तिम साता एलपीएल गर्ने गरी तयारी भइरहेको बताए । ‘आयोजनाका लागि प्रायोजक खोज्नेदेखि खेलाडीको बन्दसत्र राख्नेसम्मको तयारीमा जुटिसकेका छौं,’ उनले भने, ‘कोभिड–१९ को असरले पुनः देश लकडाउनको अवस्थामा फर्केमात्रै रोक्न सकिन्छ । नत्र जसरी पनि आयोजना गर्ने तयारीमा छौं ।’

उनले हरेक संस्करणमा पुरस्कार राशि बढाउँदै गएका बेला कोभिड–१९ का कारण एलपीएलको पुरस्कार राशि घट्ने जानकारी दिए । गत वर्ष एलपीएल विजेताले दुई लाख र दोस्रोले एक लाख रुपैयाँ पुरस्कार पाएका थिए । कोभिडका कारण पाँचौं संस्करण विजेताले एक लाख र उपविजेताले ५० हजार पुरस्कार पाउनेछन् । ‘प्रतिकूल अवस्थामा पनि एलपीएलले निरन्तरता पाओस् भनेर पुरस्कार राशि घटाएका छौं,’ उनले भने, ‘खेलकुद गतिविधि ठप्प भएका बेला यो प्रतियोगिताले खेलाडीलाई अवसर प्रदान गर्नेछ ।’ क्रिकेटप्रेमीका लागि बहुचर्चित धनगढी क्रिकेट प्रिमियर लिगको आर्कषणसँगै क्रिकेटको सहर धनगढीमा हरेक वर्ष तिहारपछि एलपीएल आयोजना हुँदै आएको थियो ।

टिममा देशका यू–१९ का राष्ट्रिय खेलाडीको सहभागिता बढाएर आकर्षण र रोमाञ्चकारी बनाउँदै लगेको छ । यो संस्करणमा पनि विभिन्न कलेजको टिमबाट यू–१९ का खेलाडीको सहभागिता हुने जनाइएको छ । उनले एलपीएलको नियमअनुसार एउटा विद्यालय तथा कलेज टिमले यू–१९ का चार खेलाडीसम्म अनुबन्धन गर्न पाउनेछन् । खेलाडी उत्पादन गर्ने प्रतियोगिताका रूपमा समेत एलपीएललाई सम्झनुपर्ने आयोजक शाही बताउँछन् । ‘देशका प्रतिष्ठित विद्यालयको टिमबाट यू–१९ का खेलाडीको बेजोड प्रस्तुतिले प्रतियोगिता आकर्षक र रोमाञ्चकारी बनाउने छ,’ उनले भने, ‘यू–१९ का खेलाडीसंँग विद्यालयस्तरका खेलाडी राख्न पाउँदा राम्रा खेलाडी उत्पादन हुने मौका मिल्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *