विनोद सिंह विष्ट, बैतडी – प्रधानमन्त्री कप (पीएम) एकदिवसीय क्रिकेटको सुदूरपश्चिम छनौटको उपाधि अछामले हात पारेको छ । फाइनल खेलमा बैतडीलाई १५ रनले पाखा लगाउदै अछामले उपाधि हात पारेको हो ।
अछामले दिएको १६५ रनको लक्ष्य पन्छाएको बैतडी १४९ रनमा समेटियो । बैतडीका लागि प्रदीपचन्दले ३० तथा वीरेन्द्र नाथले २७ रनको योगदान गरेपनि टोलीलाई भने जिताउन सकेनन् ।
अछामका लागि सुरज तिरुवाले ३ विकेट हातपारे । त्यसअघि कभर्डहल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अछामले ३८ ओभरमा १६४ रनमा अलआउट भयो । उसकालागि सुरज तिरुवाले सर्वाधिक ६१ रन जोडे । बैतडीकालागि खडक बोहरा र दीपेन्द्र ऐरीले समान ३÷३ विकेट लिएका थिए । अछामका लागि अलराउण्डर प्रदर्शन गरेको सुरज तिरुवा म्यानअफ द फाइनल भएका स्कोरर निरञ्जन बोहराले जानकारी दिनुभयो ।
अछामले यसअघिको पीएमकप छनौटको फाइनलमा बैतडीसंग व्यहोरेको हारको बदला पनि लिएको छ । बैतडी यसअघिको पीएम कप छनौटको फाइनलमा अछामलाई नै पराजित गरेर उपाधि हातपारेको थियो ।
गतमंसिर २७ देखि शुरु भएको छनौट प्रतियोगितामा बाजुराबाहेकका सुदूरपश्चिमका ८ वटा टोलीको सहभागिता रहेको थियो । यो छनौटप्रतियोगिताबाट यही पुस ११ बाट हुने प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि सुदूरपश्चिमको टोली छनौट हुनेछ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी डडेल्धुराका सन्तोस भट्ट चुनिए । बैतडीका खडक बोहरा उत्कृष्ट बलर भए भने कञ्चनपुरका किरन ठगुन्ना उत्कृष्ट ब्याट्सम्यान बनेका छन् ।
फाइनल खेलपछि एक समापन समारोहको आयोजना गरि खेलाडीलाई पुरस्कार बितरण गरिएको थियो । उक्त समापन समारोहमा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द प्रमुख अतिथी रहनुभएको थियो ।