विनोद सिंह विष्ट, बैतडी – प्रधानमन्त्री कप(पीएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिमको पुरुष टोलीको प्रदेशस्तरीय छनौट प्रतियोगितामा कञ्चनपुरमा शुरु भएको छ । आज भएका खेलमा अछाम र डडेल्धुराले विजयी शुरुवात गरेका छन् ।


महेन्द्रनगरस्थित कभर्ड हल मैदानमा उद्घाटन खेलमा डोटीलाई ६१ रनले स्तब्ध पार्दै अछामले विजयी सुरुवात गरेको छ । अछामले दिएको १८९ रनको लक्ष्य पन्छाएको डोटी १२७ रनमा समेटियो । उसका लागि रिदम बलायरले ४२ रन जोडेपनि टिमलाई जिताउन सकेनन् । डोटीलाई सस्तैमा समेट्न अछामका दिपक विष्टले ३ विकेट हात पारे । यसअघि पहिला ब्याटिङ गरेको अछामले ३५ ओभरमा अलआउट हुँदै १८८ रन जोडेको थियो । जसमा सुरज तिरुवाले अर्धसतकीय पारी खेल्दै ५२ रन हिर्काए । डोटीका सविन महरा र आयुस खड्काले ३÷३ विकेट हात पारे । उत्कृष्ट प्रदर्शन गरेका अछामका सुरज तिरुवा म्यान अफ द म्याच घोषित भए ।


यस्तै खुलामञ्च खेलमैदानमा भएको अर्को खेलमा कञ्चनपुरलाई ६ विकेटले हराउदै डडेल्धुराले पनि विजयी शुरुवात गरेको छ । कञ्चनपुरले दिएको १५७ रनको लक्ष्य डडेल्धुराले २३ ओभरमा ४ विकेटको क्षतीमा पुरा गर्यो । टिमलाई जिताउन डडेल्धुराका सन्तोस भट्टले ५५ रनको योगदान गरे । कञ्चनपुरका मिलन बोहराले १ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको कञ्चनपुरले अनिल थापाको ४२ रनको मद्दतमा ९ विकेटको क्षतीमा १५६ रन जोड्यो । डडेल्धुराका रोशन भाटले ३ विकेट लिए । अर्धसतकीय पारी खेल्दै ५५ रन हिर्काउने र २ विकेट लिने डडेल्धुराका सन्तोस भट्ट म्यान अफ द म्याच चुनिएका स्कोरर निरञ्जन बोहराले जानकारी दिनुभयो


प्रतियोगिता अन्र्तगत आइतबार कभर्डहल मैदानमा कञ्चनपुर र अछाम खेल्दा अर्को खेलमा खुलामञ्च मैदानमा डडेल्धुरा र डोटी प्रतिस्प्रर्धा गर्ने भएका छन् ।


पुस ३ गतेसम्म सञ्चालन हुने उक्त पुरुषको छनौट प्रतियोगिताबाट प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिम टोली छनौट हुने नेपाल क्रिकेट संघका सुदूरपश्चिम सचिव तेजप्रकाश भट्टले जानकारी दिनुुभयो ।
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अगामी पुस ११ गतेबाट हुदैंछ । महिलातर्फका खेलहरु दाङमा सञ्चालन हुनेछन् भने पुरुषतर्फका काठमाडौंमा हुने नेपाल क्रिकेट संघले जनाएको छ । प्रतियोगितामा तीन विभागीय र ७ प्रदेश गरी १० टिमको सहभागिता रहने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *