प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता छनोट अन्तर्गत प्रदेशन नम्बर २ को खेलमा सप्तरीको तर्फबाट कप्तान महबुब आलमले विष्फोटक शतक प्रहार गरेका छन् ।
जनकपुरमा जारी प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता छनोटमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व अलराउन्डर महबुबको उत्कृष्ट शतकले सप्तरीले प्रदेश २ छनोटमा लगातार दोस्रो जित निकालेको छ । सप्तरीले आइतबार महोत्तरीलाई ७ विकेटले पराजित गर्दै सेमिफाइन नजिक पुगेको छ।
महोत्तरीले प्रस्तुत गरेको २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको सप्तरीले २६.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा । सप्तरीलाई सहज जित दिलाउन कप्तान महबुब आलमले मात्र ४७ बलमा ८ चौका र १० छक्का सहित १ सय १ रनको अविजित शतकीय इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिए ।
ओपनर तथा विकेटकिपर आशिष झा ५० बलमा ५ चौका र ४ छक्का सहित ६३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । युवा ओपनर रोहन बिके १२ र अमित यादव १८ रनमा आउट भए । राहुल मण्डल २२ रनमा अविजित रहे । महोत्तरीका कप्तान राहुल प्रताप सिंह, पुरज ढुंगेल र मोहम्मद युसुफले एक एक विकेट लिए ।
त्यसअघि बाह्रबिघा मैदान जनकपुरमा टस हारेर ब्याटिङ थालेको महोत्तरीले निर्धारित ४५ ओभरमा ७ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो । महोत्तरीका युवा ब्याट्सम्यान रवि सिंह ८६ बलमा १० चौका र ५ छक्का सहित १ सय ८ रनमा अविजित इनिङ खेलेपनि जितको लागि पर्याप्त रहेन ।
ओपनर आदित्य झा २१, राजकुमार साहनी २६, सौरभ २०, अरुण मण्डल ४, सतिस यादव १० र राहुल प्रताप सिंह १८ रनमा आउट भए । सप्तरीका राहुल मण्डल, विकास दास, रोविन सिंह, महबुब आलम, अनुज यादव र रोहित सिंहले १–१ विकेट लिए ।
समूह ए को खेलमा यो जितसँगै सप्तरी शीर्ष स्थानमा छ । तीन खेलमा २ मा जित र १ मा हारेको महोत्तरी दोस्रो स्थानमा छ । धनुषा तेस्रो र सिराह चौथो स्थानमा छन् । प्रधानमत्री कपको लागि प्रदेश २ को छनोटमा बिहिबार देखी पुष ५ सम्म आठ टोलीले दुई समूहमा प्रतिस्पर्धा गर्ने छन् ।
समूह ‘ए’ मा धनुषा, महोत्तरी, सिराह र सप्तरी छन् । समूह ‘बी’ मा सर्लाही, पर्सा, बारा र रौतहट छन् । समूह चरणमा सबै टोलीले एक अर्का टोलीबीच खेल्ने छन् । समूहका शीर्ष दुई दुई टोली सेमिफाइनल खेल्ने छन् ।
यस प्रतियोगिताको प्रर्दशनलाई आधार मान्दै पुष दोस्रो साता देखि काठमाडौंमा सुरु हुने प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय कपको लागि प्रदेश २ ले आफ्नो टोली घोषणा गर्नेछ ।