गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा औपचारिक खेलको सुरुवातमै निकै दुर्लभ र रोचक संयोग बनेको छ । यहाँ पहिलोपटक औपचारिक रुपमा आयोजना गरिएको प्रतिस्पर्धात्मक खेल गौतम बुद्ध कपको पहिलो खेलमै निकै रोचक संयोग बनेको छ ।

हिजो भएको नारायणी र बाग्मतीबीचको पहिलो खेल नै टाइ भयो । पहिलो औपचारिक खेल नै बराबरी भएको रोचक संयोग यो स्टेडियमको नाममा बनेको छ । आजको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बाग्मतीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११७ रन बनाएको थियो ।

बाग्मतीका लागि सुनिल धमलाले ३७ रन बनाए । बिक्रम सोबले पनि ३७ रन नै बनाए र उनी नटआउट रहे । राशिद खानले २७ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । नारायणीका शहाब आलमले ३, दिपेश श्रेष्ठले २ विकेट लिए । करण केसी, किशोर महतो र सुसन भारीले १–१ विकेट लिए ।

जवाफी ब्याटिङका लागि आएको नारायणीले पनि निर्धारित २० ओभरमा ११७ रन नै बनाउन सक्यो । नारायणीका लागि आरिफ शेखले ४४, सिद्धान्त लोहनीले २०, इशान पाण्डेले १३ र सुवास खकुरेलले ११ रन बनाए । बाग्मतीका लागि सोमपाल कामीले २ विकेट लिए । सागर ढकाल, पवन सर्राफ, बिक्रम सोब, ललित राजवंशी र राशिद खानले १–१ विकेट लिए ।

स्कोर बराबरी भएपछि सुपरओभरमा गएको आजको खेलमा सुपरओभरमा ७ छक्का बर्सिए । यी ७ छक्कामध्ये नारायणीको लागि सबै छक्का हान्ने ब्याट्सम्यान र बाग्मतीका ब्याट्सम्यानको हातबाट छक्का खाने बलर दुवै करण केसी थिए । बाग्मतीको लागि तीन छक्का हान्ने ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल थिए ।

यो खेलमा अर्को रोचक संयोग यो पनि बन्यो सुपरओभरमा दुवै टिमका एक एक जना मात्र ब्याट्सम्यानले खेले, अर्का ब्याट्सम्यानले एक बल पनि खेल्न पाएनन् । पहिले ब्याटिङ गरेको नारायणीका करण केसीले सोमपाल कामीको बलमा पहिलोदेखि तेस्रो बलसम्म तीन छक्का हाने । चौथो र पाँचौं बल डट खेले । छैटौं बल सोमपालले वाइड फाले र अर्को लिगल बलमा करणले पुन छक्का हाने ।

बाग्मतीले २६ रनको लक्ष्य पाएको थियो । नारायणीका लागि बलिङ पनि करण केसीले नै गरे । बाग्मतीका ज्ञानेन्द्र मल्लले पहिलो बलमा छक्का हाने । दोस्रो बल करणले वाइड फाले । दोस्रो लिगल बलमा ज्ञानेन्द्रले फेरि छक्का हाने । तेस्रो बल डट खेलेका ज्ञानेन्द्रले चौथो बल पुनः छक्का हाने । पाँचौं बल डट खेले र छैटौं बलमा १ रन मात्र लिन सके ।

उक्त खेलमा म्यान अफ द म्याच करण केसी भए । त्यो खेलमा अर्को रोचक संयोग यो पनि रह्यो कि आज कुनै पनि बलर बिना विकेट रहेनन् । आज नारायणीको लागि ५ जना र बाग्मतीको लागि ६ जना गरी कूल ११ जनाले बलिङ गरेका थिए । ११ जना बलरमध्ये सबैले कम्तीमा १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *