नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले निजीस्तरमा सञ्चालन भएका फ्रेन्चाइज क्रिकेट लिगलाई कानुनी दायरामा ल्याउने बताएका छन्।
धनगढीमा शनिबार पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष चन्दले नेपाली क्रिकेटको विकासका लागि सबै स्तरका प्रतियोगितालाई कानुनी दायरामा ल्याउने बताएका हुन्।
लामो समयदेखि क्रिकेटका कुनै पनि खेल हुन नसकेको अवस्थामा अब भने क्यानले नेपाल प्रिमियर लिग सहित विभिन्न घरेलु खेलहरूको आयोजना छिट्टै गर्न लागेको उनको भनाइ छ।
यद्यपी नेपाल प्रिमियर लिगको आयोजनाको जिम्मा भारतीय कम्पनीलाई दिने लागेको भन्दै पछिल्लो समय क्यानको बिरोध भइरहेको छ।
अध्यक्ष चन्दले नेपाली क्रिकेटको विकास र हितका लागि नेपाल प्रिमियर लिग हुने धाराणा राखे।
‘नेपाली खेलाडीको एक्सपोजरका लागि नेपाल प्रिमियर लिग आयोजना गर्न लागेका हौं,’ उनले भने,’अहिले भइरहेका लिगले दिने भन्दा बढी रकम खेलाडीले पाउँछन्।’
विश्वभर चर्चा पाउने गरी एनपिएल आयोजना गरिने पनि अध्यक्ष चन्दले बताए।
अध्यक्ष चन्दले नेपालको क्रिकेटलाई विश्वस्तरीय बनाउन धेरै सुधार गर्नुपर्ने र क्यानले त्यसतर्फ ध्यान दिएको पनि प्रष्ट पारे।
यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुनभएका डेभ वाटमोरको कारण क्रिकेट विकासमा टेवा पुग्ने अध्यक्ष चन्दले बताए।
क्यानलाई पारदर्शी बनाउने र विभिन्न उमेर समूहका खेलाडीहरूको छनोट गर्दा उनीहरूको क्षमतालाई मुख्य प्राथमिकता दिने समेत अध्यक्ष चन्दले बताए।
सरकारले नेपालको क्रिकेट विकासमा ध्यान दिन नसक्दा नेपाली क्रिकेटले लक्ष्य अनुसार फड्को मार्न नसकेको पनि अध्यक्ष चन्दले बताए।