गौतमबुद्ध कप त्रिकोणात्मक ट्वान्टी–२० क्रिकेटमा नारायणी टिमले बाग्मतीबिरुद्ध सुपर ओभरमा जित हासिल गरेको छ । करण केसीले सोमपाल कामीको बलमा ४ छक्का प्रहार गरेपछि नारायणी टिम जितेको हो।

निर्धारित ओभरमा दुवै टिमले १ सय १७ को स्कोर बनाएपछि खेल सुपर ओभरमा पुगेको हो । सुपरओभरमा सुरुआती ब्याटिङ गरेको नारायणीले २५ रनको लक्ष्य पेश गरेको थियो । नारायणीका लागि करण केसीले ४ छक्का प्रहार गरे । उनले सुरुआती तीनबलमा छक्का प्रहार गरे । त्यसपछिका २ बलमा रन लिएनन् । त्यसपछि सोमपालले एक बल वाइड फाले । अन्तिम बलमा पनि करणले छक्का प्रहार गरे ।

बाग्मतीका लागि कप्तान ज्ञानेन्द्र मल्ल र पवन सर्राफले ब्याटिङ गरे । करण केसीको बलिङमा उनीहरुले २० रनमात्र बनाउन सके । पहिलो बलमै ज्ञानेन्द्रले छक्का प्रहार गरे । त्यसपछि करणले वाइड बलिङ गरे । दोस्रो बलमा पनि ज्ञानेन्द्रले छक्का प्रहार गरे । तेस्रो बलमा ज्ञानेन्द्रले रन लिएनन् । चौथो बलमा ज्ञानेन्द्रले अर्को छक्का प्रहार गरे । पाँचौं बलमा करणले रन दिएनन् । अन्तम बलमा ज्ञानेन्द्रले १ रनमात्र लिए र खेल नारायणीले जित्यो ।

यसअघि नियमित खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रनको योगफल तयार गरेको थियो । निकै नै खराव सुरुआत गरेको बागमतीका लागि विक्रम शोव र रशिद खानले आठौं विकेटका लागि ५९ रनको अर्धशतकीय साझेदारी गरेपछि एकसय रनको स्कोर पार भएको थियो ।

ओपनर सुनील धमलाले ३७ रन जोडे पनि शीर्ष क्रममा अन्य ब्याट्सम्यानहरु लगातार आउट भएका कारण बागमती सुरुदेखि नै दवावमा देखियो । कप्तान ज्ञानेन्द्र मल्लले ५, रोहित पौडेल र पवन सर्राफले १÷१, प्रदीप ऐरीले १८ बलमा ४ रन बनाउँदा अनिल साह र सोमपाल कामीले खाता खोल्नै सकेनन् ।

११.२ ओभरमा सुनील ३२ बलमा ३७ रनको स्कोरमा आउट हुँदा बागमतीको स्कोर ५०-७ थियो । त्यसपछि आएका विक्रम र रशिदले ५९ रनको ठोष साझेदारी गरे । अन्तिम ओभरको पहिलो बलमा आउट हुनुअघि रशिदले २२ बलमा २ छक्का र १ चौकासहित २७ रन बनाए ।

विक्रम ३७ रनमा अविजित रहे । ३१ बल खेलेका उनले ३ छक्का र २ चौका प्रहार गरे । बलिङमा नारायणीका साहव आलमले २ विकेट लिए । दीपेश श्रेष्ठले २, करण केसी, सुशान भारी र किशोर महतोले १/१ विकेट लिए ।

जवाफमा नारायणी पनि निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय १७ रनमै रोकियो । पारस खड्कालाई कोरोना संक्रमण देखिएपछि नारायणी टिम सुवास खकुरेलको कप्तानीमा मैदानमा उत्रिएको थियो । रामपुरस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा सामान्य लक्ष्य पछ्याउने क्रममा नारायणीका लागि आरिफ शेखले ४४ रनको योगदान दिए । उनले ४५ बलमा ४ छक्का र १ चौका प्रहार गरे । कप्तान सुवासले ११, इशान पान्डेले १३ र शिद्धान्त लोहनीले २० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन छुन सकेनन् ।

बलिङमा सोमपाल कामीले २ विकेट लिए । सागर ढकाल, पवन सर्राफ, विक्रम शोव र ललित नारायण राजवंशीले एक एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *